Friday, October 9, 2026

बुद्धिको अनिकालको समय ( दुइ राजाको बुद्धि र अनि त्यसको प्रयोग) - हितोपदेश ३१

बाइबलमा बुद्धिको साहित्य भन्नाले अय्यूब, हितोपदेश र उपदेशकका पुस्तकहरूलाई बुझिन्छ।बाइबललाई साहित्यको रूपमा यसैकारण लिईएको हो किनकी यो फरक-फरक समयमा विभिन्न व्यक्तिहरूले लक्षित समुहलाई बिशेष संदेश दिनका निम्ती आ-आफ्नै शैलिमा लेखिएको हो। बाइबललाई साहित्य वा लेख भन्दैगर्दा हरेक लेखकले परमेश्वरको प्रेरणा पाएर लेखेका हुन (२ तिमिथी ३;१६) । बुद्धिका पुस्तकहरूमा जीवनको लामो अनुभवबाट पाएको ज्ञानलाई छोटो, सरल र दैनिक जीवनमा प्रयोग गर्न सकिने भाषामा प्रस्तुत गरिएको छ। विशेषगरी पूर्वीय समाजमा शिक्षा र ज्ञानलाई मौखिक वार्तालाप, कथा, र अनुभवद्धारा हस्तान्तरण गरिन्छ भने पश्चिमी समाजमा शिक्षा र ज्ञानलाई सिद्धान्त, तर्क वा प्रमाणबाट सिकाइन्छ। हाम्रो नेपाली समाज पनि मौखिक परम्परा, उखान–टुक्का द्धारा सदियौं देखि ज्ञानको संचार गरीरहेको छ। हिब्रू समाज पनि यस्तै प्रकारको शैलिमा हर्किदै आएकोले बुद्धिका साहित्यहरू नेपाली समाजले छिटै र सहजै बुझ्न सक्छन भन्दा फरक नपर्ला। बुद्धिका साहित्यका यी तीन मुख्य पुस्तकमा अय्यूबले सङ्कट र सङ्घर्षको सामना कसरी गर्ने भनि सिकाउछ भने हितोपदेशले दैनिक जीवनमा कसरी बुद्धिमानीपूर्वक जिउने भन्ने मार्गदर्शन दिन्छ, साथै उपदेशकले जीवनको अर्थ, उद्देश्य र अस्तित्वका गहिरा प्रश्नहरूमाथि चिन्तन गर्छ। यस अर्थमा यी तीन पुस्तकहरूले मिलेर मानव जीवनको ठूलो क्षेत्रलाई समेट्छन्। आज हामी हितोपदेश ३१ लाई बृहत हितोपदेशको सन्दर्भमा हेर्ने प्रायस गर्नेछौं।

१. परमेश्वरको बुद्धिको प्रभाव सबैका लागि (इस्राएली र गैर इस्राएली)

इस्राएलका राजा सोलोमन परमेश्वरबाट असाधारण बुद्धि पाएका व्यक्ति थिए जसको चर्चा हामी हितोपदेश १-२९ सम्म हेर्छौं। (तिन हजार हितोपदेश, एक हचार पाँच गीतहरू- १ राजाहरू ४:३२) तर जीवनको अर्को पक्ष पनि हामीले बिर्सनु हुँदैन। बुद्धि पाउनु एउटा कुरा हो, तर त्यो बुद्धिअनुसार जीवन जिउनु अर्को पक्ष हो। हितोपदेश ३१ मा भने हामी अर्को राजाको कथा भेट्छौँ -राजा लमुएल। उनी इस्राएली राजा थिएनन्। तर उनले आफ्नी आमाबाट परमेश्वरको भय र बुद्धिसँग सम्बन्धित शिक्षा पाए। यहाँ एउटा गहिरो कुरा देखिन्छ। सोलोमनले परमेश्वरबाट बुद्धि पाए तर त्यसलाई प्रयोग गर्न चुके; लमुएलले परिवारबाट बुद्धि सिके, तर उनले त्यसलाई जीवनमा प्रयोग गरे। लमुएलकी आमाले आफ्ना छोरालाई कस्तो राजा बन्ने, कसरी जीवन जिउने, कसरी मानिसलाई हेर्ने र कसरी आफ्नो घर चलाउने भन्ने कुरा सिकाइन्। त्यसैले आज हामी आफैँलाई एउटा प्रश्न सोध्न सक्छौँ! हाम्रो घरमा कस्तो बुद्धिको चर्चा भइरहेको छ? हाम्रा छोराछोरीले हामीबाट के सिकिरहेका छन्? उनीहरूले हामीबाट केवल पढाइ,  पैसा,  सम्पत्ति र सफलता सिकिरहेका छन् कि परमेश्वरको भय, सत्य, न्याय, प्रेम, जिम्मेवारी र सही जीवन जिउने बुद्धि पनि सिकिरहेका छन्?

२. परिवारबाट आउने बुद्धिको प्रभाव

हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ शिक्षा, परिवार, नैतिक मूल्य-मान्यता र सामाजिक जिम्मेवारीका क्षेत्रमा चुनौतिहरू बढीरहेका छन्। भ्रष्टाचार, भौतिक प्रतिस्पर्धा, पारिवारिक बिछोड र प्रविधिको बढ्दो प्रभावले हाम्रो समाजलाई छताछुल्ल पारिरहेकोछ। यसका प्रभावहरू मण्डलीमा परेको छैन भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा एउटा महत्वपूर्ण प्रश्न उठ्छ कि हाम्रा घरहरूले हाम्रा सन्तानलाई कस्तो बुद्धि दिइरहेका छन्? बालबालिकाहरूको शुरुवाती वर्षहरूमा (जन्म-१२ वर्ष) आफ्नै घर र अभिभावकको प्रभावमा हुर्किरहेका हुन्छन्। त्यसपछि विद्यालय, साथीहरूको प्रभावहरू (१३-१८ वर्ष) , समाज, संस्कृति (१९-२५वर्ष) देखिन थाल्छन्। यसकारण सन्तानको जीवनमा घर नै पहिलो पाठशाला हो भने अभिभावकहरू उनीहरूका पहिला शिक्षक हुन्। हाम्रा छोराछोरीले विद्यालय वा मण्डलीबाट मात्र सिकिरहेका छैनन्। उनीहरूले  सामाजिक सञ्जाल, एआई र विभिन्न डिजिटल माध्यमबाट हरेक दिन असंख्य कुरा सिकिरहेका छन्। यसले एउटा नयाँ प्रश्न जन्माएको छ कि यदि अभिभावकहरूले आफ्ना सन्तानलाई बुद्धि दिन छाडे भने उनीहरूलाई बुद्धि कसले दिनेछ? कतिपटक अभिभावक घरमै भए पनि उनीहरू आफ्नै घरमा नभएको अवस्था हुन्छ। शरीर घरमा हुन्छ, तर समय मोबाइलमा हुन्छ; ध्यान काममा हुन्छ; मन सामाजिक सञ्जालमा हुन्छ। यस्तो अवस्थामा हाम्रा सन्तानले आफ्नो जीवनका महत्वपूर्ण प्रश्नहरूको उत्तर कहाँबाट खोजिरहेका छन्? यही सन्दर्भमा हितोपदेश ३१ मा लमुएल र उनकी आमाको सम्बन्ध अत्यन्त महत्वपूर्ण देखिन्छ। राजा लमुएलले आफ्नी आमाबाट पाएको शिक्षा उनको जीवन र नेतृत्वमा प्रभाव पार्ने बुद्धिको स्रोत बनेको देखिन्छ। यसैले प्रश्न केवल यो होइन कि हामी आफ्ना छोराछोरीलाई के दिएर जाँदैछौँ? प्रश्न यो पनि हो कि हामी आफ्ना छोराछोरीको मनमा कस्तो बुद्धि छोडेर जाँदैछौँ?

3.लमुएलको शिक्षामा देखिने बुद्धिमानी स्त्री

हितोपदेश संकलन गर्नेले किन हितोपदेशको अन्त्य बुद्धिमान स्त्रीको चित्रणका साथ गरेका होलान्? राजा सलोमनको अन्तिम समयमा उनको जीवनमा स्त्रीहरूको प्रभावका साथै हितोपदेश ३१ ले अगुवापनलाई दिएको चुनौतिलाई विचार गर्नु आवश्यक छ। परमेश्वरको राज्यको बृहत तस्विरलाई कसरी हितोपदेश ३१ ले परीवारमा ल्याएर जोडिरहेको छ? राजा लमुएलकी आमाले आफ्ना छोरालाई असल पत्नी, असल परिवार र असल जीवनको अर्थ बुझाउँदै गर्दा केवल बाहिरी सौन्दर्यको कुरा गर्दिनन्। हितोपदेश ३१:१०-१२ मा उनी मूल्यको कुरा गर्छिन्। त्यहाँ असल स्त्रीलाई बहुमूल्य रत्नभन्दा पनि मूल्यवान् भनेर चित्रण गरिएको छ। उनका पतिले उनीमाथि भरोसा गर्छन्,

र उनले आफ्नो जीवनसाथीलाई हानि होइन, भलाइ गर्छिन्।त्यसपछि उनको परिश्रम र सीपको चर्चा आउँछ। उनी आफ्ना हातले उत्साहपूर्वक काम गर्छिन्। उनी केवल घरभित्र बसेर अरूको भरमा रहने व्यक्ति होइनन्; उनी आफ्नो क्षमता प्रयोग गर्छिन्। त्यसपछि उनको दूरदृष्टि र व्यवस्थापन क्षमता देखिन्छ। उनी सोचविचार गर्छिन्, खेत किन्छिन्, त्यसमा लगानी गर्छिन् र आफ्नो परिश्रमबाट आम्दानी गर्छिन्। अर्थात् उनी केवल वर्तमानमा बाँच्ने होइन, भविष्यको बारेमा पनि सोच्ने स्त्री हुन्। त्यसपछि उनको उदारता देखिन्छ। उनी आफ्नो घर र परिवारमा मात्र सीमित हुँदिनन्। गरिब र आवश्यकतामा परेकाहरूलाई पनि आफ्नो हात फैलाउँछिन्। त्यसपछि उनको प्रतिष्ठा र प्रभावको कुरा आउँछ। उनको जीवनका कारण उनका पति पनि सम्मानित हुन्छन्। उनको चरित्रले उनको परिवारलाई पनि प्रभाव पार्छ। तर अन्तमा सबैभन्दा महत्वपूर्ण कुरा के हो? उनको मुखबाट निस्कने वचन। उनको बुद्धि उनको व्यवहारमा देखिन्छ, उनको परिवारमा देखिन्छ, उनको परिश्रममा देखिन्छ, गरिबप्रतिको व्यवहारमा देखिन्छ र अन्ततः उनको बुद्धि उनको बोलीमा सुनिन्छ। किनकि यदि घरमा बुद्धिको चर्चा हुँदैन भने मण्डलीले मात्र बुद्धिमानी पुस्ता निर्माण गर्न सक्दैन। मण्डलीले शनिबार केही घण्टा शिक्षा दिन सक्छ, तर घरले हरेक दिन शिक्षा दिन्छ। मण्डलीले वचन सुनाउन सक्छ, तर घरले त्यो
वचन जीवनमा कसरी बाँच्ने भनेर देखाउनुपर्छ। मण्डलीले परमेश्वरबारे सिकाउन सक्छ
, तर अभिभावकको जीवनले सन्तानलाई परमेश्वरसँग कसरी जिउने भनेर देखाउनुपर्छ।

त्यसैले हितोपदेश ३१ को सन्देश आज केवल महिलाहरूका लागि होइन। यो आमाबाबुका लागि हो, परिवारका लागि हो, नेतृत्वका लागि हो, र सम्पूर्ण मण्डलीका लागि हो। अन्ततः परमेश्वरको बुद्धि पुस्तकमा मात्र रहनु हुँदैन। बुद्धि घरमा बोलिनुपर्छ, व्यवहारमा देखिनुपर्छ, सन्तानमा सर्नुपर्छ र मण्डलीको जीवनमा अभ्यास हुनुपर्छ।

परमेश्वरको वचनले हामी सबै मण्डलीलाई उहाँको राज्यको चरित्रमा जीउन अनुग्रह गर्नुभको होस्।

 


Sunday, October 4, 2026

नेपाली मण्डलीमा भेटी र दशांश: बुझ्न र बुझाउन नसकेको पहेली

नेपाली मण्डलीमा गम्भीर भएर मनन गर्नुपर्ने विषयहरूमध्ये एउटा हो-  “परमेश्वरको राज्यमा दिने कुरा।” भेटी, दशांश, दान, मुठि दान जस्ता शब्दावलि हाम्रो मण्डली जीवनका परिचित शब्दहरू हुन्। मण्डलीको सेवा, सुसमाचारको काम तथा कठिन परिस्थिति एवंम आवश्यकतामा परेका मानिसहरूको सहयोगका लागि दिनु निश्चय नै महत्वपूर्ण विषय हो। तर दिने कुरासँग जोडिएका हाम्रा शिक्षाहरू, अभ्यासहरू र त्यसले नेपाली ख्रीष्टयनहरूको मानसपटलमा निर्माण हुदै गरेका धारणाहरूलाई पनि समय-समयमा बाइबलको प्रकाशमा जाँचिरहनु आवश्यक छ। मलाई यो विषयमा धेरै बोल्नु वा लेख्नु आवश्यक छैन भन्ने लागेको थियो। तर मण्डली समाजमा सुधार, परिपक्वता र स्वस्थ विश्वासको विकासका लागि केही असहज लाग्ने विषयमा पनि इमानदारीपूर्वक संवाद गर्न आवश्यक हुन्छ। त्यसैले यस विषयलाई  समग्र बाइबलिय तरिकामा अध्ययन र मनन गरेर बुझ्नु आवश्यक पर्छ।

सबैभन्दा पहिले एउटा आधारभूत कुरा स्पष्ट गरिनु आवश्यक छ। परमेश्वरको काममा दिन पाउनु अवसर हो, करकाप हुदै होइन। पुरानो करारमा कयिन र हाबिलले दिएको कुरादेखि नयाँ करारमा विधवाले दिएको भेटीसम्म हेर्दा, “दिने कुरा” केवल “कति दिइयो” भन्ने मापनसँग सम्बन्धित देखिँदैन; यसको सम्बन्ध मानिसको हृदय र मनसायसँग पनि जोडिएको हुन्छ। त्यसैले म “दिनु” लाई अझ स्वस्थ, स्वेच्छिक, बाइबलीय र जिम्मेवार दृष्टिकोणबाट बुझ्नुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु। अब प्रश्न “दिने”  वा “नदिने” भन्ने होइन तर प्रश्न हामी किन दिन्छौँ?,  कसरी दिन्छौँ? र मानिसहरूलाई दिन सिकाउँदा कस्तो परमेश्वरको चित्रण प्रस्तुत गर्छौँ? भन्ने हो। तल उल्लेखित विषयहरू पढ्दै गर्दा यो मर्मलाई नमेटिकन पढ्नलाई अनुरोध गर्न चाहन्छु।

दशांश र नयाँ करारको सन्दर्भ

दशांशको विषयलाई बुझ्दा पुरानो र नयाँ करारको सन्दर्भलाई वृहत प्रकाशमा हेर्नु आवश्यक हुन्छ। पुरानो करारमा दशांश इस्राएलीहरूको धार्मिक, सामाजिक र करारीय जीवनसँग सम्बन्धित रहेको पाइन्छ। यो विषयलाइ लेवीहरूको सेवकाइ, धार्मिक उत्सव, गरिब तथा आवश्यकतामा रहेका मानिसहरूको हेरचाह लगायत विभिन्न पक्षसँग सम्बन्धित छ। त्यसैले पुरानो करारमा उल्लेख भएको दशांशलाई त्यसको ऐतिहासिक र करारीय सन्दर्भबाट अलग गरेर आजको मण्डलीका प्रत्येक विश्वासीमाथि उही प्रकारको नियम हो भनि लागू गर्नु उचित हुन्छ वा हुँदैन भन्ने प्रश्न नेपाली ख्रीष्ट्यन मण्डलीहरूले विचार गर्नुपर्छ। त्यसैले मलाकी र यशैयामा उल्लेखित दशांशसम्बन्धी खण्डहरूलाई ती पुस्तकका प्रारम्भिक प्रापकहरूको सन्दर्भ नबुझी जस्ताको तस्तै वर्तमान मण्डलीमा लागू गर्नु बाइबलीय मर्म र अर्थकै अनर्थ हुन सक्छ।

नयाँ करारमा उल्लेख गरेको “दशांश” शब्दको सन्दर्भ पनि बुझ्नु अति नै आवश्यक हुन्छ। यो भन्दै गर्दा बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको साहित्य (लेख) हो, त्यसैले यसलाई सन्दर्भमा पढिनुपर्छ। सुसमाचारका किताबहरूमा येशूले फरिसीहरूको धार्मिक अभ्यासका सन्दर्भमा दशांशको कुरा गर्नुभएको छ। तर उहाँको मुख्य प्रश्न दशांश दिएकोमा थिएन; बरु उनीहरूले धार्मिक अभ्यासमा (दशांस र अरुकुरामा) अत्यन्तै सावधानि दिएता पनि समाजमा न्याय,  दया र परमेश्वरको राज्य अनि विश्वासजस्ता गहिरा विषयवस्तुहरूलाई बेवास्ता गर्ने प्रवृत्ति प्रति थियो। यसैले येशूको शिक्षालाई केवल “दशांश दिनुपर्छ” भन्ने नियममा सीमित गर्नु उहाँको राज्यको सन्देशलाई साँघुरो बनाउनु हुन सक्छ। (मत्ती २३;२३, लूका ११;४२, लूका १८;१२)। हिब्रूको पुस्तकमा पनि पुरानो करारको सन्दर्भमा दशांशको चर्चा आउँछ। तर त्यसलाई आजको मण्डलीमा आर्थिक नियमका रूपमा सीधा स्थानान्तरण गर्दा त्यसको सम्पूर्ण करारीय र धर्मशास्त्रीय सन्दर्भलाई ध्यान दिनुपर्ने होइन र?  नयाँ करारमा मण्डलीलाई दिने विषयमा पावलको शिक्षालाई हेर्दा पनि ध्यान केवल निश्चित दश प्रतिशत पूरा गर्ने कुरामा केन्द्रित भएको पाइँदैन। विशेष गरी कोरिन्थी मण्डलीलाई दिइएको शिक्षामा स्वेच्छा, आफ्नो क्षमता र हृदयको अवस्थालाई महत्वपूर्ण स्थान दिइएको छ। यहाँ दिने कुरा क्यालकुलेटरले दश प्रतिशत निकालेर हिसाब मिलाउने कुरा होइन तर  परमेश्वरप्रतिको विश्वास, उदारता र आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्ने कुरा हो। यो भन्दै गर्दा मैले आफ्नो जीवनको सेवकाइमा केही यस्ता व्यक्तिहरू पनि देखेको छु, जसले आफ्नो कमाइको आधा भाग परमेश्वरको राज्यको काममा दिएका छन्, तर उनीहरूले दिएको कुरा मण्डलीलाई समेत थाहा भएको हुदैन। अर्कोतर्फ, मैले यस्तो पनि देखेको छु कि कसैले आफ्नो जमिन बेचेर मण्डलीमा ठूलो रकम दिएको हुन्छ र त्यसलाई सारा मण्डलीका सामु गवाहीका रूपमा सुनाइन्छ। मण्डलीले यसो गर्नुको उद्देश्य अरूलाई पनि दिने कुरामा उत्साहित गर्नु हुन्छ। त्यसपछि मण्डलीले त्यही व्यक्तिको उदाहरण दिँदै “सबैले उहाँबाट सिक्नुपर्छ” भनेर अरूहरूलाई प्रोत्साहित गर्ने गर्छ। तर दुखको कुरा त्यहि घरमा रहेको विरामी व्यक्तीले आर्थिकी अभाव भएकाका कारण उचित उपचार पाउन सकिरहेको हुदैन्। मैले बुझ्न र बुझाउनै नसकेको पहेली? अझ कतिपय मण्डलीमा दशांश दिने व्यक्तिहरूको नाम मण्डलीका सामु पढेर सुनाउने वा मण्डलीको बोर्डमा टाँस्ने परम्परा पनि देखिन्छ। कतिपय ठाउँमा त दशांश नदिनेहरूको नाम समेत सार्वजनिक गर्ने गरिन्छ। यस्तो अभ्यासले हामीलाई एउटा गम्भीर प्रश्नतर्फ डोर्याउँछ- “हामी मण्डलीमा कस्तो प्रकारको “राज्य” र कस्तो “संस्कृति” निर्माण गर्न चाहन्छौँ?” दिने कुरा मानिसको प्रशंसा, तुलना वा दबाबको विषय बन्ने अथवा परमेश्वरप्रतिको प्रेम, कृतज्ञता र मण्डलीको जिम्मेवारीको स्वाभाविक अभिव्यक्ति बन्ने?  यो प्रश्न नेपाली मण्डलीका अगुवाहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ। यस्तो अभ्यासले अनजानमै मण्डलीभित्र अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सम्भावना नहोला भन्न सकिन्न। एउटाले यति दियो, अब अरूले पनि त्यति नै दिनुपर्छ भन्ने प्रकारको उदाहरणभन्दा पनि, मानिसहरूले परमेश्वरलाई चिनेर, उहाँको अनुग्रहलाई बुझेर र उहाँको कार्यप्रति आफ्नो जिम्मेवारी महसुस गरेर दिने प्रेरणा पाउनु स्वस्थकर हुन्छ।त्यसैले दिने कुराको मूल्य रकमको आकारमा होइन, परमेश्वरप्रतिको हृदय, विश्वास र समर्पणमा खोजिनुपर्छ।

दिने कुरालाई डरको विषय बनाउने प्रवृत्ति

नेपाली मण्डलीको अभ्यासमा कहिलेकाहीँ यस्तो विचारहरू सुनिन्छ कि दशांश नदिएमा मानिसमाथि श्राप आउन सक्छ, विपत्ति आउन सक्छ वा परमेश्वरको दण्ड भोग्नुपर्छ। अझ कतिपय अवस्थामा दशांश नदिने व्यक्तिलाई आध्यात्मिक रूपमा कमजोर, अनाज्ञाकारी वा परमेश्वरबाट टाढा रहेको मानिसका रूपमा हेर्ने प्रवृत्ति पनि देखिन्छ। यस्तो शिक्षाले ख्रीष्ट-विश्वासीलाई दिने कुरामा प्रेरित गर्नुभन्दा डरमा राख्न सक्छ। मानिसले परमेश्वरलाई प्रेम र कृतज्ञताका साथ दिनेभन्दा पनि विपत्ति नआओस् भन्ने डरले दिन थाल्न सक्छ। त्यसो हुँदा दिने कुरा आराधनाको अभिव्यक्ति नभई कुनै अनिष्टबाट बच्न तिर्नुपर्ने “शुल्क” जस्तो बन्न सक्छ। यी कुरा मैले आफ्नै कल्पनाबाट भनेको होइन; दान वा दशांश दिने र दिन नसक्ने मण्डलीका केही व्यक्तिहरूका जीवनबाट आएका अनुभव र कथाहरूबाट लिएको हुँ। मैले कति परिवार यस्तो पनि देखेको छु, जसको कमाइले महिनाभरि दाल-भात जुटाउन नै मुस्किल हुन्छ। यस्तो अवस्थामा पनि उनीहरूलाई दशांश वा भेटीका नाममा आत्मिक दबाब दिनुपर्छ भन्ने कुरा बाइबलले सिकाउँदैन।उनीहरू प्रति मण्डलीको जिम्मेवारी पनि त होला!  अब नेपाली मण्डलीमा दिने विषयमा सुनिने गरेका केही मनगढन्ते र गलत धारणाहरूको चर्चा गर्न चाहन्छु।

१. “पृथ्वीमा जति धेरै दिनुहुन्छ, स्वर्गमा त्यति नै धेरै परमेश्वरले दिनुहुन्छ।”

दिने कुरालाई परमेश्वरसँगको आर्थिक लेनदेन जस्तो बनाउनु खतरनाक हुन्छ। लूकाको  किताबबाट लिइने यो वाक्याश प्रचार गर्दै गर्दा “क्षमा” लेनदेनको विषयमा जोड दिदा पक्कै सन्दर्भसँग मेल खान्थ्यो तर शब्द मिल्यो भन्दैमा यसलाई भेटि र दशांसमा जोड दिएर व्याख्या गरिनु त बाइबलिय साहित्यको मर्ममा चोट पुर्याउनु नै हो। “मैले यति दिएँ, अब परमेश्वरले मलाई त्यति नै दिनुपर्छ” भन्ने सोचले विश्वासलाई परमेश्वरसँगको सम्बन्धबाट हटाएर आशिष प्राप्त गर्ने सूत्रमा बदल्न सक्छ। परमेश्वरलाई पैसा दिएर उहाँ किन्ने कुरा पनि त होइन। दिने कुरालाई आशिष प्राप्त गर्ने निश्चित फर्मुला बनाउनु गम्भीर विषय हो। यदि हाम्रो दिने कुराको मुख्य उद्देश्य नै “मैले धेरै दिएँ भने परमेश्वरले मलाई अझ धेरै दिनुहुन्छ” भयो भने हामीले परमेश्वरलाई आराधना गरिरहेका छौँ वा आशिषलाई खोजिरहेका छौँ? यो प्रश्न प्रत्येक विश्वासीले आफैँलाई सोध्नुपर्छ। हामी प्रायः “परमेश्वरलाई दिन्छौँ” भन्दै गर्दा वास्तवमा यो सबै धन-सम्पत्ती मण्डलीको सेवा, सुसमाचारको काम,  सामाजिक सेवा वा आवश्यकतामा रहेका मानिसहरूतर्फ जान्छ (जानुपर्ने हो)। त्यसैले “परमेश्वरलाई दिनु” भन्नाले परमेश्वरलाई पैसाको आवश्यकता छ भन्ने अर्थ होइन। बरु परमेश्वरप्रतिको हाम्रो विश्वास, कृतज्ञता, उदारता र जिम्मेवारीलाई मानिस र समुदायको आवश्यकतामा प्रयोग गर्नु हो (ख्रीष्ट्यनहरूको मात्र होइन)। मण्डली चलाउन आर्थिक स्रोत आवश्यक पर्छ। सुसमाचारको काम गर्न, सेवकाइ सञ्चालन गर्न, आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न र विभिन्न सामाजिक तथा मानवीय आवश्यकतामा सहभागी हुन स्रोत चाहिन्छ। यस अर्थमा मण्डलीमा दिने कुरा आवश्यक र सम्मानयोग्य अभ्यास हो।

२. “दशांश दिनुभएन भने तपाईंमाथि श्राप आउँछ।”

यो शिक्षालाई सावधानीपूर्वक जाँच्नुपर्छ । ख्रीष्ट-विश्वासीलाई श्राप र विपत्तिको डर देखाएर पैसा दिन बाध्य बनाउनु सुसमाचारको स्वतन्त्रता र अनुग्रहसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न हामीले विचार गर्नु आवश्यक छ।  ख्रीष्ट-विश्वासीले परमेश्वरलाई डरले होइन, विश्वास र प्रेमले पछ्याउँछ।

3. मण्डलीले उठाएको भेटी र दशांशको प्रयोग मण्डलीभित्रै मात्र गर्नुपर्छ?

    नेपाली मण्डलीमा सुनिने यस्ता वाक्यांश र तिनले ख्रीष्ट-विश्वासीहरूको जीवनमा पारेको प्रभावलाई बाइबलीय धरातलमा रहेर समीक्षा गर्नु आवश्यक छ। यही सन्दर्भमा मण्डलीले उठाएको भेटी र दशांशको प्रयोग मण्डलीभित्रका काममा मात्र सीमित हुनुपर्छ वा आवश्यकतामा परेका मानिसहरू र समाजको भलाइका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने प्रश्नमा पनि विचार गर्नुपर्ने हुन्छ।

तर प्रारम्भिक मण्डलीको अभ्यासलाई हेर्दा, ख्रीष्ट विश्वासीहरूले आफ्नो स्रोतलाई केवल मण्डलीको आन्तरिक आवश्यकताका लागि मात्र प्रयोग गरेका थिएनन्। उनीहरूले आवश्यकतामा परेका मानिसहरूलाई सहयोग गर्ने, कमजोरहरूको हेरचाह गर्ने र समुदायको भलाइका लागि पनि आफ्ना स्रोतहरू बाँड्ने गरेका उदाहरणहरू भेटिन्छन्।बाइबलिय अगमवक्तहरू जस्तै यशैया, यर्मिया, मलाकिले पुरानो करारमा यिनै विषयलाई सम्बोधन गर्दै दशांसको चर्चा गरका होइनन् र? कालान्तारमा यस्तै सेवाका कामहरू क्रमशः विभिन्न संस्था र संरचनामार्फत व्यवस्थित हुँदै गए। आज नेपालमा पनि विपद्, दुःख र आवश्यकताको समयमा विभिन्न मण्डली तथा ख्रीष्टियन समुदायहरूले सहयोग गर्दै आएका छन्। त्यस्ता सहयोगका लागि प्रयोग हुने स्रोतको एउटा हिस्सा मण्डलीमा उठाइने भेटी र दशांश पनि हो। यसलाई नेपाली मण्डलीले अझ स्पष्ट रूपमा बुझ्न र यसको महत्वलाई स्वीकार गर्न आवश्यक छ।आज धेरै मण्डलीहरूले सेवाको कार्यहरू सञ्चालन गरेका छन्, गरिब तथा असहायहरूलाई सहयोग गरेका छन्, शिक्षा, स्वास्थ्य वा सामाजिक सेवाका विभिन्न काममा सहभागी भएका छन्। यस्तो अवस्थामा मण्डलीले उठाएको भेटी र दशांश प्रयोग गर्न हामी किन हिचकिचाउँछौँ? मण्डलीको आर्थिक स्रोत मण्डलीका आवश्यकताका लागि प्रयोग हुनु स्वाभाविक र आवश्यक पनि हो।

तसर्थ दिने कुरालाई मानिसमाथि नियन्त्रण गर्ने साधन बनाउनु कदापी होइन। यस विषयमा सबैभन्दा गम्भीर प्रश्न सायद यही हो—हामी मण्डलीमा भेटी उठाउँदा जति उत्साह र जोडका साथ बोल्छौँ, के त्यति नै उत्साह र जोडका साथ येशू र उहाँको वचनको चर्चा गर्छौँ? हामी मानिसहरूलाई कति दिनुपर्छ भनेर सिकाउन जति समय खर्च गर्छौँ, के त्यति नै समय उनीहरूलाई येशूको जीवन, प्रेम, क्षमा, न्याय, दया, विश्वास र परमेश्वरको राज्यको बारेमा बुझाउन, लागु गर्न र प्रचार गर्न खर्च गर्छौँ? यदि मण्डलीमा पैसा दिने विषयले येशूलाई पछाडि पार्न थाल्यो भने हामीले आफैँलाई रोकिएर जाच्नुपर्ने हुन्छ। मण्डलीको आर्थिक आवश्यकता वास्तविक हुन सक्छ, तर त्यो आवश्यकता पूरा गर्ने क्रममा सुसमाचारको केन्द्र हराउनु हुँदैन। मण्डलीले मानिसलाई केवल दिने मानिस बनाउने होइन; उसलाई येशूलाई पछ्याउने, उहाँको वचन बुझ्ने, अरूलाई प्रेम गर्ने, न्याय र दयामा हिँड्ने र आफ्नो जीवन परमेश्वरको राज्यमा समर्पित गर्ने विश्वासी बनाउनु हो।

मण्डलीले “दिने” कुरालाई कसरी अभ्यास गर्ने?

यदि कसैले यो लेख पढेर “दशांश दिनु गलत हो” भन्ने निष्कर्ष निकाल्छ भने, सम्भवतः उसले यस लेखको मूल आशय बुझ्न सकेको छैन। दशांश दिनु गलत होइन; तर दशांशलाई एउटा बाध्यकारी धार्मिक नियम वा विधिका रूपमा प्रस्तुत गर्नुचाहिँ विचार गर्नुपर्ने विषय हो। परमेश्वरको सेवामा आफ्नो स्रोत दिनु वास्तवमा ख्रीष्ट-विश्वासीको जिम्मेवारी र जवाफदेहितासँग पनि जोडिएको कुरा हो। तर दिने कुरालाई निश्चित प्रतिशतमा मात्र बाँधेर त्यसैलाई बाइबलीयताको मापदण्ड बनाउनु नयाँ करारको दिने शिक्षाको व्यापक मर्मसँग मेल खाँदैन। नयाँ करारको शिक्षा हेर्दा दिने कुरा स्वेच्छा, उदारता, आफ्नो क्षमता र आवश्यकताप्रतिको संवेदनशीलतासँग जोडिएको देखिन्छ। प्रेरितहरूको पुस्तकमा प्रारम्भिक मण्डलीका ख्रीष्ट-विश्वासीहरूले आफ्ना स्रोतहरू एकअर्कासँग बाँडेको र आवश्यकतामा परेकाहरूलाई सहयोग गरेको उदाहरणहरू हामी देख्छौँ। त्यसैगरी, अनिकालको समयमा एउटा मण्डलीले अर्को मण्डलीकाहरूलाई सहयोग गरेको घटना पनि प्रेरित ११ अध्यायमा उल्लेख गरिएको छ। यसैले मण्डलीको दिने संस्कृति केवल आफ्नै मण्डलीका आवश्यकतामा सीमित नभई, आवश्यकतामा परेका मानिसहरू र समुदायसम्म पुग्नुपर्ने कुरा पनि देखाउँछ। येशूले पनि “लिनुभन्दा दिनु धन्य हो” भन्नुभएको कुरा लूकाले प्रेरित २०:३५ मा उल्लेख गरेका छन्।  हृदयबाट दिइएको स्रोतले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ र त्यसबाट परमेश्वरको महिमा हुन सक्छ।

यही सन्दर्भमा एउटा गम्भीर प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ “के मण्डली आफ्नै आवश्यकताका लागि मात्र बाँच्ने हो?”  संसारमा आज पनि भोक, गरिबी, विपत्ति र अभावमा रहेका असंख्य मानिसहरू छन्। अर्थशास्त्री अमर्त्य सेनले विश्वमा खाद्य अभावभन्दा पनि स्रोतको असमान पहुँच र वितरणले भोकमरीलाई गम्भीर बनाउनेतर्फ ध्यान खिचेका छन्। यसले पनि एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—हामीसँग भएको स्रोतलाई कसरी बाँड्छौँ र कसका लागि प्रयोग गर्छौँ? त्यसैले, यस लेखको आशय दशांश दिनु हुँदैन भन्ने होइन। बरु, दिने कुरालाई केवल एउटा धार्मिक विधि, निश्चित प्रतिशत वा बाध्यकारी नियममा सीमित गर्नु हुँदैन भन्ने हो। दिने कुरा राज्यको संस्कृतिको हिस्सा हो; यो परमेश्वरप्रतिको प्रेम, कृतज्ञता, उदारता र अरूप्रतिको जिम्मेवारीबाट जन्मिने हृदयको विषय हो।