Sunday, August 23, 2026

नेपाली ख्रीष्ट्यन भजन-गीतहरूमा धर्मशास्त्रीय विवेकको आवश्यकता

भजन ८३२
ख्रीष्ट्यन आराधनामा भजन-भजनको स्थान अत्यन्त महत्वपूर्ण छ। भजनले मानिसको भावना छुन्छ,  विश्वासलाई स्मरणयोग्य बनाउँछ र समुदायलाई एउटै विश्वासमा सहभागी गराउँछ। बाइबलले पनि परमेश्वरका जनहरूलाई भजन, स्तुति र आत्मिक भजनहरूद्वारा एकअर्कालाई शिक्षा दिन र परमेश्वरको प्रशंसा गर्न आह्वान गर्छ। (कलस्सी ३;१६) त्यसैले ख्रीष्ट्यन भजन शिक्षाको माध्यम पनि हो।

यही कारणले नेपाली मण्डलीमा गाइने भजनहरूको धर्मशास्त्रीय परीक्षण आवश्यक हुन्छ। कुनै भजनको धुन मीठो हुनु, मानिसलाई भावुक बनाउनु वा त्यसमा येशू, “प्रभु, “क्रूस, “प्रेम, “वचन जस्ता ख्रीष्ट्यन शब्दहरू हुनु मात्रले भजनलाई धर्मशास्त्रीय रूपमा सही प्रमाणित गर्दैन। भजनको मूल विचार, प्रयोग गरिएका शब्द, परमेश्वरबारे प्रस्तुत गरिएको धारणा र मानिसको उद्धारबारे दिइएको शिक्षा सबैलाई पवित्रशास्त्रको प्रकाशमा जाँच्नुपर्छ।

भजनसंग्रह आफैँले हामीलाई यसको राम्रो नमुना दिन्छ। बाइबलीय भजनहरू केवल भावनात्मक अभिव्यक्ति होइनन्। तिनमा परमेश्वरको चरित्र, उहाँका काम, मानिसको पाप, पश्चात्ताप, न्याय, उद्धार, दुःख, आशा र परमेश्वरमाथिको भरोसा समेटिएका छन्। त्यसैले नेपाली ख्रीष्ट्यन भजनले पनि भावनालाई धर्मशास्त्रीय सत्यबाट अलग गर्नु हुँदैन। आज त्यस्ता केहि भजनहरू जुन नेपाली मण्डलीले विचार गर्नुपर्ने भजनको चर्चा गर्नेछु।

नेपाली भजन किताबको ८३२ लाई हेरौं। जहाँ  भाग्य शब्दको प्रयोग गरिएको छ। मैले एउटा अगुवाहरू संगतीमा यसको बारेमा कुरा उठाउँदा उहाँहरूलाई अलि असहज महशुज भयो। भजन नं. ८३२ मा वचनलाई परमेश्वरको प्रेम-पत्र, बाटो र ज्योति, भोजन र सान्त्वनाका रूपमा प्रस्तुत गरिएको छ। यीमध्ये धेरै चित्रहरू बाइबलका शिक्षासँग सम्बन्धित छन्। तेस्रो अन्तरामा वचन हाम्रो तरवार हो, पापीहरूको भाग्य हो भन्ने पंक्ति आउँछ। यहाँ भाग्य शब्दमाथि विशेष ध्यान दिन आवश्यक हुन्छ।नेपाली भाषामा भाग्य शब्दले प्रायः मानिसको जीवनमा पूर्वनिर्धारित luck वा fate भन्ने धारणा दिन सक्छ। यदि पापीहरूको भाग्य भन्नाले पापीहरूको उद्धार वा विनाश कुनै भाग्य वा लकले निर्धारण गर्छ भन्ने अर्थ लाग्छ भने यस्तो अभिव्यक्ति बाइबलको उद्धारसम्बन्धी शिक्षासँग मेल खादैन। बाइबलले मानिसको उद्धारलाई अन्धो भाग्यको परिणामका रूपमा प्रस्तुत गर्दैन। उद्धार परमेश्वरको अनुग्रह, प्रेम र ख्रीष्टको कार्यसँग जोडिएको छ। भाग्य भन्ने सांस्कृतिक अर्थले मानिसको उद्धारलाई कर्म, पूर्वजन्मको पुण्य वा किस्मतसँग जोड्ने सम्भावना राख्छ। त्यसैले ख्रीष्ट्यन भजनमा यस्तो शब्द प्रयोग गर्दा यसको अर्थ स्पष्ट हुनु आवश्यक हुन्छ।

अर्को नेपाली मण्डलीमा गाइने भजन छ जसमा नेपाली समाजका शब्दावलीहरू, जस्तैः चौतारी, अँगालो, आत्मीयता र हृदयको धड्कनहरूको प्रयोग गरीएको छ। यी शब्द र रूपसँग हाम्रो समाज राम्ररी परिचित छ। चौतारीमा बासेर, अङ्गालोमा हालेर तिम्रो दिलको धड्कन सुनौँला जस्ता पंक्तिले नेपाली श्रोताको भावनालाई सहजै छुन्छन्। तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ। भजनले भावनात्मक रूपमा येशूलाई नजिक ल्याउँदा उहाँबारे बाइबलले दिएको शिक्षालाई पनि सही रूपमा प्रस्तुत गरेको छ कि छैन? येशूसँग आत्मीय सम्बन्धको कुरा बाइबलमा स्पष्ट छ। उहाँले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभयो, उनीहरूलाई आफ्नो मित्र भन्नुभयो र आफ्ना जनहरूलाई आफूमा रहन बोलाउनुभयो। तर बाइबलले येशूलाई केवल भावनात्मक रूपमा नजिक रहेको प्रिय पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन। उहाँ प्रभु, उद्धारकर्ता, परमेश्वरका पुत्र, न्यायाधीश र राजा पनि हुनुहुन्छ।

त्यसैले कुनै भजनले येशूलाई केवल मेरो मनको साथी वा मेरो भावनात्मक सहारा को रूपमा प्रस्तुत गर्छ र उहाँको प्रभुत्व, पवित्रता, क्रूस, पुनरुत्थान र उद्धारको सत्यलाई हराउँछ भने भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय कमजोरी बन्न सक्छ।भावनाले धर्मशास्त्रलाई प्रतिस्थापन गर्नु हुँदैन। बरु धर्मशास्त्रीय सत्यले भावनालाई दिशा दिनुपर्छ।

तर मण्डलीमा गाइने भजनका लागि अर्को प्रश्न अझ महत्वपूर्ण हुन्छ। सुन्नेहरूले त्यो शब्दबाट के बुझ्छ? धर्मशास्त्रीय रूपमा सही आशय राखिएको शब्दले पनि स्थानीय समाजमा फरक अर्थ बोकेको छ भने त्यसलाई पुनर्विचार गर्नु आवश्यक हुन्छ। भजन मण्डलीको सामूहिक शिक्षाको माध्यम हो। त्यसैले भजनकारले मैले भन्न खोजेको अर्थ यही हो मात्र भनेर पुग्दैन। सुन्नेहरू के सुन्छ र के सिक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।

जस्तै उदाहरणको निम्ति भजन नं. ४०१ मा प्रयोग भएको युद्धसम्बन्धी भाषाले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ। युद्ध, “वैरी, “झण्डा, “तरवार, “शत्रुलाई हराऔँ जस्ता शब्दहरू बाइबलमा पनि भेटिन्छन्। त्यसैले यी शब्दहरू प्रयोग हुँदैमा भजन अधर्मशास्त्रीय हुन्छ भन्न मिल्दैन।वास्तवमा नयाँ करारले पनि ख्रीष्टियन जीवनलाई आत्मिक संघर्षको भाषामा प्रस्तुत गर्छ। एफिसी ६ मा पावलले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्न आह्वान गर्छन्। त्यहाँ आत्माको तरवार लाई परमेश्वरको वचनसँग जोडिएको छ।समस्या शब्दको अस्तित्वमा मात्र होइन। समस्या ती शब्दहरूले आजको सामाजिक सन्दर्भमा के अर्थ उत्पन्न गर्छन् भन्नेमा पनि छ।नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज हो। यहाँ हामी र उनीहरू, “शत्रु, “वैरी, “युद्ध, “झण्डातरवार जस्ता शब्दले धार्मिक संघर्षको भाव उत्पन्न गर्न सक्छन्। विशेष गरी ख्रीष्ट्यन धर्मलाई बाह्य वा विदेशी धर्मका रूपमा हेर्ने मानिसहरूबीच यस्ता भाषाले भजनको मूल आत्मिक आशयभन्दा फरक सन्देश दिन सक्छ। उदाहरणका लागि ख्रीष्टको सेना भन्ने अभिव्यक्ति आत्मिक संघर्षको प्रतीकका रूपमा बाइबलीय सन्दर्भमा बुझ्न सकिन्छ। तर नेपालका गैरख्रीष्ट्यन श्रोताले त्यसलाई अरू धर्मविरुद्धको युद्धको भाषाका रूपमा बुझ्न सक्छन्। त्यसैले भजनको धर्मशास्त्रीय सत्य जोगाउँदै सांस्कृतिक सञ्चारलाई पनि विचार गर्नु आवश्यक हुन्छ।

अन्त्यमा भजन-गीतहरूलाई धर्मशास्त्रीय रूपमा परीक्षण गर्दा दुईवटा प्रश्न अलग-अलग सोध्नुपर्छ। पहिलो, यसको धर्मशास्त्रीय अर्थ सही छ कि छैन? दोस्रो, नेपालको वर्तमान बहुधार्मिक सामाजिक परिवेशमा यसको भाषाले कस्तो सञ्चार गर्छ? ख्रीष्ट्यन भजनको मूल्याङ्कन गर्दा पहिलो प्रश्न भजन कति मीठो छ?” हुनु हुँदैन। पहिलो प्रश्न भजनले के सिकाउँछ?” हुनुपर्छ। त्यसपछि अर्को प्रश्न आउँछ, “यसले मानिसलाई कस्तो परमेश्वर देखाउँछ?” त्यसपछि, “ख्रीष्ट को हुनुहुन्छ भनेर यसले के सिकाउँछ?” मानिसको पाप र उद्धारलाई यसले कसरी प्रस्तुत गर्छ?”

यसमा प्रयोग भएको भाषा बाइबलसँग मेल खान्छ?” स्थानीय संस्कृतिमा यसले कस्तो अर्थ दिन्छ?” मण्डलीले यो भजन बारम्बार गाउँदा नयाँ पुस्ताले के सिक्छ?”

यी प्रश्नहरू महत्वपूर्ण छन् किनभने भजन केवल शनिबारको आराधनामा गाइने केही मिनेटको सामग्री होइन। भजन स्मृतिमा बस्छ। मानिसले प्रवचनका धेरै कुरा बिर्सन सक्छ, तर भजनका पंक्ति वर्षौंसम्म सम्झिरहन सक्छ। त्यसैले भजनको धर्मशास्त्रीय कमजोरीलाई यो त भजन मात्र हो भनेर बेवास्ता गर्नु उचित हुँदैन।भावना आवश्यक छ, तर भावना पर्याप्त छैन। ख्रीष्ट्यन आराधना भावनाविहीन हुनुपर्छ भन्ने होइन। भजनसंग्रहमा आनन्द, दुःख, डर, आशा, पश्चात्ताप, प्रेम र विजय सबै छन्। समस्या भावनामा होइन। समस्या धर्मशास्त्रीय सत्यबाट अलग भएको भावनामा हुन्छ। एउटा भजनले मानिसलाई रुवाउन सक्छ। अर्को भजनले मानिसलाई नाच्न प्रेरित गर्न सक्छ। अर्को भजनले मानिसलाई शान्त बनाउन सक्छ। तर प्रश्न यो हो, त्यसपछि मानिसले परमेश्वरबारे के सिक्यो?

यदि भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय सत्यमा आधारित छ भने त्यो आराधनाको शक्तिशाली माध्यम बन्न सक्छ। तर यदि भावनाले शब्दको धर्मशास्त्रीय कमजोरीलाई ढाक्छ भने मण्डलीले विवेक गर्नुपर्छ।

भजन लेखकहरूले पवित्रशास्त्रबाट भजन लेख्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।विशेष गरी भजनसंग्रह, हितोपदेश, अय्यूब, यशैया र अन्य काव्यात्मक पुस्तकहरूले नेपाली ख्रीष्ट्यन भजनका लागि ठूलो स्रोत प्रदान गर्छन्। भजनसंग्रहले मानिसको जीवनका वास्तविक अनुभवलाई परमेश्वरको सत्यसँग जोड्छ। दुःख छ, तर परमेश्वर पनि हुनुहुन्छ। पाप छ, तर पश्चात्ताप पनि छ। न्याय छ, तर अनुग्रह पनि छ। डर छ, तर भरोसा पनि छ। यस्तो भजनले नेपाली समाजको वास्तविक अनुभवलाई बाइबलको सत्यसँग जोड्न सक्छ। हामीलाई केवल ख्रीष्ट्यन शब्द भएको भजन चाहिएको होइन। हामीलाई ख्रीष्ट्यन सत्य बोकेको भजन चाहिएको हो। भजनको धुन सुन्दर हुनुपर्छ। भाषा पनि सुन्दर हुनुपर्छ। सांस्कृतिक अभिव्यक्ति पनि स्वाभाविक हुनुपर्छ। तर यी सबैभन्दा माथि भजनले पवित्रशास्त्रको सत्यलाई आदर गरेको गर्नुपर्छ।

Sunday, September 1, 2024

मित्रताको छनौट (हितोपदेश २७:१-१० र १३: २०)

 कसैले यसो भनेका थिए, “तिम्रा मित्रहरु देखाउ, म तिमीलाई तिम्रो भविष्य भनिदिनेछु। हो, मित्रताले हाम्रो जीवनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ।सि.एस. लुईसले आफ्नो किताब चार प्रेममा यसरी भनेका छन्: मित्रता दर्शन र कला जस्तै अनावश्यक कुरा हुन्,... यसको कुनै जीवित मूल्य छैन; तर यो ती चीजहरू मध्ये एक हो जसले बाँच्नको लागि मूल्य दिन्छ।" दानियल कक्सले वर्तमान समाजलाई मित्रताको मंदी भएको समाज भन्छन्। बढ्दो सामाजिक सञ्जालको अत्याधिक प्रभावका कारण वर्तमान यूगमा मित्रता कता कता अन्योलता भएको देखिन्छ।

हितोपदेश १३:२० ले यसरी भन्छः बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ। हितोपदेश २७:६ ले भन्छः मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌। हरेक बुआ-आमाहरुले आफ्ना नानिबाबुहरुका मित्रहरु को छन् भन्ने कुरा थाहा गरेको असल हुन्छ। मित्रतालाई धेरै कुराले प्रभाव पारेको हुन्छः बढ्दो सामाजिक सञ्जाको प्रयोग, वैदेशिक रोजगार, कामको चाप र अन्य थुप्रै! हामी कस्तो सोचमा बढीरहेकाछौं भन्ने कुरा हाम्रो वरीपरी कस्ता मित्रहरु छन् भन्ने कुराले तय गर्दछ। फेरी असल मित्र खोज्ने जिम्मेवारी पनि मानिस आफैको हुन्छ।तसर्थ कसले कस्तो मित्र बनाउने भन्ने कुरा हरेकको व्यक्तिगत छनौटको कुरा हो।असल मित्रहरुले हामीलाई सुधारका बाटाहरु देखाईदिन्छन। तर खराब मित्रहरुको चुम्बनले केहि क्षण राम्रो लाग्ला तर अनन्तको निम्ति घातक हुन्छ। पुरानो करारमा दुईवटा मित्रताको घटनाहरुलाई हेरौं। एउटा यहोशापात र इस्राएलका राजा आहाबको मित्रता भने अर्कोतिर जोनाथन र दाऊदको मित्रता! राजा आहाब आफ्नो मित्र यहोशापात मरेपनि आफु चाहि बाच्न चाहे।(१ राजा २२) यसले नकारात्मक मित्रताको संकेत गर्दछ। अर्कोतिर जोनाथनले आफ्नो मित्र दाऊदको सुरक्षाको निम्ति जीवनको पनि प्रभाव गरेनन्।(१ शमु २०:३२) जोनाथनको मित्रताले करारतिर लगेर जान्छ।


मित्रहरु, हामी कस्तो प्रकारको मित्रता खोजिरहेकाछौं। बुवाआमाले जन्म दिनुहुन्छ तर असल मित्रले नै बाटो देखाउने कार्य गर्छ। एकैछिन हाम्रो वरीपरीका मित्रहरुलाई हरौं! परमेश्वरले हामी सबैलाई असल मित्रको वरीपरी रहन सहायता गर्नुभएको होस्।


येशू कस्तो प्यारो मित्र


 

प्रार्थनाको विषयः

"उत्तरी यमेनि अरब" विशेषत साउदि अरब बस्ने समुह हो। त्यहाँ यिनीहरूको जनसंख्या २९४,००० छ। यिनीहरू इश्लाममा विश्वास गर्छन्। परमेश्‍वरको कार्य यस जातिमा हुनसकेको होस्।

Friday, January 12, 2024

मिश्रमा बिपत्ति किन? ( प्रस्थान ७:१-७)

प्रस्थान अध्याय ७ मा परमप्रभुले उहाँका चिन्हहरु र आश्चर्यकर्महरुद्धारा इस्राएलीहरुलाई मिश्रबाट निकाल्ने योजना बनाउनुहुन्छ 

किन परमेश्वरले मिश्रमा बिपत्तीहरु ल्याउन भयो होला? यो प्रश्नले हामीलाई मिश्रको बारेमा केहि जानकारी दिन्छ भने, इस्राएलीहरुको निम्ति परेमश्वर वास्तवमा को हुनुहुन्छ भन्ने कुरा देखाउदछ। अध्याय ७-११ सम्म उल्लेख गरीएका बिपत्तीहरु मिश्री देवीदेवताहरुसँग सम्बन्धित थिए । जस्तैः नील नदी मिश्रीहरुको प्राण वा ओस्रिस देवताको निम्ति पवित्र, भ्यागुता- हेका देवताको शिर, भुसुना-जमिनको देवता, झीँगा- रे वा सुर्य देवताको प्रतिक, साथै  जेठो छोरा- जसलाई देवताको सेवाको निम्ति अर्पण गरिन्थ्यो ।

यसले एउटा सन्देश के दिन्छ भने म हुँ जो म हुँ परमप्रभु सबै देवीदेवता भन्दा महान हुनुहुन्छ भन्ने कुरा को संदेश दिन्छ । यो केवल फारो र मिश्री अधिकारीहरुको लागि मात्र नभएर छुटकाराको निम्ति बोलाईएकाहरुका इस्राएलीहरुका निम्ति पनि थियो।

आज हामीले परेमश्वरलाई कसरी हेरिरेहकाछौं। परमेश्वर प्रतिको हाम्रो दिष्टिकोणले नै हामीले गर्ने आराधना निर्धारण गर्दछ। अब इस्राएलीहरुले परेमश्वरलाई कसरी आराधना गर्नुपर्छ होला? अब इस्राएलीहरुले परमेश्वरलाई कुन दृष्टिकोणले हेर्नुपर्छ, एकछिन विचार गरौं ।

Tuesday, May 23, 2023

नेपालका मण्डलीहरुलाई खुला पत्र

 २३ मे २०२३

 

आदरणिय मण्डली-अगुवा ज्यूहरु,

ख्रीष्ट्य अभिवादन र जयमसिह! 

 

विषयः समसामयिक विषयलाई मध्यनजर गरीदिनुहुन बारे!

 

मलाई आशा छ यो पत्रलाई तपाईहरु सबैले कुनै पनि पुर्वाग्रह नराखी मनन गरीदिनुहुनेछ । मेरो प्रार्थना र बिन्ती यही छ कि हामीहरु सबैलाई यस पत्रमा उदृत गरिएका प्रश्नहरुले सोच्न बाध्य बनाएको होस् ।कति पटक वास्तविकतालाई आफुमा मात्र राख्दा र जगजाहेर गर्नबाट चुक्दा इतिहासले सधै दोष देला भन्ने डर हुदोरहेछ ।त्यहि दोषको बोझ नबोक्ने मनका साथ केहि धरातलिय यथार्थहरुलाई हामीहरु सबैले महशुस गरौं, र परमेश्वरको मार्गदर्शन खोजौं भन्ने आशाका साथ यो खुला पत्र लेख्दैछु । यी सबैकुरा भन्दै गर्दा मण्डलि अगुवाहरूको प्रार्थना, दर्शन र परमेश्वरको अनुग्रहको वस्तुमय प्रमाणहरू भनेका नै  गएका ७० वर्षको इतिहास हो भन्दा फरक नपर्ला र यस वास्तविकतालाई मलै पनि  स्वीकार गरेको छु । तर पनि अबको भावी रणनिती र बाटो के र कसरी भन्ने प्रश्न गरिरहदा, हाम्रो वर्तमानको धरातलिय सोचलाई सबै मिलेर वचनको प्रकाशमा हेर्ने कि भनि प्रश्न गर्न चहान्छु ।

 

१.   येशूको मिशनः

येशूको राज्यको मिशनलाई आज मनन गर्नु अपरिहार्य भएको छ । वचनको कामको प्रभाव न त पुरानो करारमा, न त नया करारको समयमा नै परीवर्तन भएकोछ । यदि केहि कुरा परीवर्तन भयो भने हाम्रो साधन, श्रोत र माध्यमहरु भने अवश्य परीवर्तन भएका छन् । वचन त आज पनि त्यहि हो, र यसले आफ्नो काम गरेर नै छोड्छ । तर आज हामीले सोचेको र व्यावहारमा ल्याएको मिशनले हामीलाइ घच्घचाएको हुनुपर्छ ।म यो लेख्दै गर्दा बडो बोझ र जिम्मेवारी महशुस गरी मनमा प्रार्थनाका साथ यी शब्दहरू कोर्न पुगेको छु । हामीले परिभाषित गरेको मिशनयेशु र प्रेरितहरुले परीभाषित गरेको मिशनमा फरक देख्छु । गएको धेरै समय देखि हाम्रो सोच र ध्यान येशूको मिशनको कार्य भन्दा पनि कता कता हामी नेपालि मण्डलीहरु कसरी श्रोत र आवश्यकताको परिपुर्ति गर्न सकिन्छ भन्ने कुरामा अलि बढी जोड दिइरहेको महशुस गरीरहेको छु । मलाई मर्कूस १० अध्यायले पटक पटक ढ्कढकाउछ जहाँ चेलाहरूले बुझेको मिशन: हामी जे चाहन्छौ र येशूले सिकाउन खोज्नु भएको मिशनमाः सेवा गर्न र धेरैका निम्ति आफ्नो जीवन दिन ठुलो धरातलिय भिन्नता पाउन सकिन्छ । येशूको मिशनको व्याख्या त ४५ पदमा आएर छर्लङ्ग हुन्छ । आज कतै हामी याकुव र यहुन्नाको मिशनकै परिभाषामा रुमलिरहेका छौ कि? यो प्रश्न आज म आफैसँग पनि गरिरहेको छु ? यो त केवल मेरो मात्रै सोच हो कि भनेर मैले आफैलाई दोष दिइरहेको थिए । तर अहँ, रहेनछ । यहि अवस्थामा मैले केहि यस्ता मण्डलीका सदस्यहरुलाई पनि भेटे जसले मिशनको वास्तविकता बुझ्न संघर्ष गरीरहनुभएको छ । सायद मण्डली कमिटीले वार्षिक योजना पक्कै पनि तयार गर्नुभएको होला (म त यसमा अनविज्ञ नै छु)! हाम्रा वार्षिक योजनामा मिशन सम्बन्धिका कति योजनाहरुलाई प्राथमिकता दिईयो र त्यसमा हाम्रो श्रोतहरूलाई कसरी परिचालन गर्यौ ? यसको समिक्षा पक्कै पनि तपाईहरुले गर्नुभएको नै होला । मण्डली भन्ने शब्दले यसै वास्तविकतालाई भन्दछ कि हामी संसार देखी बोलाईएकाहरु फेरि संसारमै मिलापको सेवा गर्नेहरुको झुण्ड हौं (Called to be “in” the world but not “of” the world-John 15:19) । तसर्थ बदलिदो परिस्थितिमा येशूको मिशनलाई हामीले कसरी लगिरहेकाछौ?। आज हामीलाई पहिलो शताब्दिको मिशन इतिहासले छिट्टै नै झस्काएको होस् ।  

२. देशमा आर्थिक मन्दीः  परेमश्वरको चमत्कारमा म रत्ती भर पनि शंका गर्दिन । तर वास्तविकतालाई नजारअन्दाज गर्नु पर्छ भन्ने कुरा पनि म त्यत्तिकै विश्वास गर्दिन । तर विश्वले भोगिरहेको वास्तविकतालाई हामीले भावनामा उडाउनु पक्कै हुदैन् । मन्दी भन्नाले कुनै पनि चिज लामो समयसम्म सुस्त हुनु हो । देशको अर्थव्यवस्था धेरै समयसम्म सुस्त भयो भने यसैलाई आर्थिक मन्दी भनिन्छ । देशको अर्थव्यवस्थामा लगातार दुईतिहाइले जीडीपी ग्रोथ घटिरहेको अवस्थालाई प्राविधिक रूपमा मन्दीको नाम दिइन्छ । अझै सजिलो शब्दमा भन्दा अर्थव्यवस्था बढ्नुको साटो घट्छ र यो घटेको घट्यै जान्छ भने देश आर्थिक मन्दीमा पुग्यो भनेर बुझ्दा हुन्छ । र अहिलेको वास्तविकता यही हो । गत वर्षको तुलनामा नै देशको राजस्व असुली १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँले कम छ । यसकै कारण चालु आर्थिक वर्षको देशमा खर्च व्यवस्थापन गर्न र अर्को वर्षको बजेट बनाउन सरकारलाई सकस भईरहेको अवस्था छ (onlinekhabar.com)।  देशको अर्थतन्त्र कता गईरहेको छ भन्नेकुरा कृपया गरी अगुवाहरूले पढीदिनुपर्यो। यसै प्रसङ्गलाई हेर्दै गर्दा हाम्रो भौतिक संरचना निर्माण गर्ने कार्यलाई अब फेरी मुल्याङ्कन गर्ने बेला आएकोछ ।याद रहोस कि विश्व मण्डलिको ९५% भन्दा बढी श्रोत अचल सम्पत्तीमा नै अड्किरहेकोछ । मिशनको कार्यमा त ३% भन्दा पनि कम हुने गर्दछ । यो छ हाम्रो विश्व मण्डलीको कहालिलाग्दो अवस्था!  अहिलेको मन्दीको अवस्थामा कयौ परीवारमा चुलो नबल्ने समस्या कथा नभई वास्तविकता हुनेवाला छ । कति परीवारहरू महिनाको ७०००-८००० तिरेर औषधि किनेर खाने अवस्थामा छन् ।मजदुरी गरेरे परिवार पाल्नेहरु अब काम नपायर अतालिई रहनुभएको छ । बैकको ब्याज तिर्न नसकेर तल्लाघरे माईलादाईको घर बैंकले लिलाम गरीदियो रे । बेसीको कान्छो पनि पोहोरसालको ऋण तिर्न नसकेर मलेशिया तिर हानिएछ । यस विषम परिवेशमा त मण्डली आवश्यकतामा परेका हरुको दुख बाड्ने झुण्ड हुनुपर्ने होईन र ! तर हाम्रो ध्यान र मन केमा समिक्षा गरौं न।  यहि वास्तविकता प्रेरितको किताब हामी सबैले पढेका नै छौं –बाडंचुड गर्ने कुराको वास्तविकता । तर आज त्यो एकादेशको कथा जस्तो हुनलागिसक्यो? यहि अकाट्य यथार्थहरूका बीचमा बिगत दिनहरुमा कता-कता मण्डलीमा आर्थिक विषयवस्तुलाई हरेक शनिवारमा अलि ज्यादा सुचना गरिएन र ? त्यसलाई एकैछिन मण्डलिका अगुवाहरूले विचार गरीदिए कति अतिशयोक्ति हुनेथियोहोला । यस्तो परिस्थितिमा मण्डलीको आर्थिक कुरालाई लिएर पटक-पटक मण्डलिमा भनिरहुनु उपयुक्त होईन कि भन्ने मेरो सानो बिन्ति यहाँ निर राख्न चाहे ।

 

३. शिक्षाको आवश्यकताः हामी मिलेर इमान्दारी पुर्वक विचार गरौं। हाम्रो मण्डलिका प्रचारका विषय बस्तुहरुकै कुरा गर्दा के कुरामा जोड दिनुपर्छ होला । बसेर समिक्षा गर्ने बेला आएको छ!  हाम्रो मण्डलीमा वचनको शिक्षामा कति लगानि गरेका छौं ? कति प्रतिशत श्रोत हामीले वचनको शिक्षामा खर्च गरेका छौ? एकैछिन हामी यस विषयमा मनन गरौं न।  मण्डलिको वृद्धिको पछाडी वचनको शिक्षाको भुमिका उत्तिकै हुन्छ । यदी हामी लाखौ रकम भौतिक थोकमा गर्नसक्छौ भने पक्कै पनि त्यहि अनुपातमा वचनको शिक्षामा गर्नसक्छौ । तर के ले हामीलाई रोकिरहेको छ? यो प्रश्न हामी सबैका निम्ति हो । इतिहासमा मण्डलीका शहिदहरुले वचनको शिक्षाको चर्चा गर्दा त्यसबेलाको मण्डलीले विरोध गरेको हामी कसरी भुल्न सक्छौं? तर विक्लिफ, हस र लुथरहरूले हरेश खाएनन् । उनीहरुले रोमन क्याथोलिक मण्डलीको साम्रज्य र मानविय शक्तिको अगाडी वचनको सत्यता घोषणा गरी नै रहे । यद्दपी ख्रीष्ट्यन धर्म भन्ने समुहले त्यसको विरोध नै गर्यो तर पनि उनीहरुले वास्तविकता भन्न र लेख्न छोडेनन्।  सबै श्रोत वचनको प्रचार र शिक्षामा व्यतित गरे । जसको उत्तर नै तपाई र हामीहरु हौं, र आफैलाई हामी वचनको रक्षक वा प्रोटेस्टन्ट भन्ने अवसर पाएकाछौं । आज हाम्रो उत्सव, रमाहट क्रममा कतै कसैको चुला-बत्ती नै बल्न आफ्ठ्यारो भईरहेको छैन ? हामी सबैले सोचौं । यो भन्दै गर्दा म आफै पनि त्यत्तिकै नै जिम्मेवार छु । तसर्थ यदि मण्डलीको भविष्य हेर्ने हो भने अरु भौतिक थोक भन्दा हामीले ख्रीष्टको मिशन र वचनको शिक्षामा लगानि गर्नै पर्छ।

परेमश्वरले हामीहरू सबैलाई सहायता गर्नुभएको होस् ।

 

 

हर्के

सुर्खेत